मिडियाबाजी डटकम काठमाडौं । प्रतिनिधि र प्रदेशसभा चुनाव आउन अब ३० दिन बाँकी छ । उम्मेदवारहरूले यही बेला अधिक खर्च गर्ने गरेका छन् । उम्मेदवारहरूको खर्चको एउटा स्रोत चन्दा र सहयोग पनि हो । अहिले विदेशमा रहेका नेपालीहरूले आफू निकट वा आफू अनुकूलका उम्मेदवारलाई सहयोग गर्न चाहिरहेका छन् ।विदेशमा बसेका नेपालीले पैसा उठाएर मोटो रकम पठाउन चाहेको तर कसरी पठाउने भन्ने अन्योलमा देखिएको राष्ट्र बैंकका उच्च अधिकारीले बताए ।
ती अधिकारीले त्यस्तो रकम ल्याउने व्यवस्था गरिदिन राष्ट्र बैंकमा पटक पटक फोन समेत आउने गरेको बताए । यद्यपि, ठुलो रकम नेपाल भित्र्याउँदा स्रोत खुलाउनु पर्ने भएकाले चन्दा भनेर ल्याउन नमिल्ने ती अधिकारीको भनाइ छ ।सहयोग गर्न चाहनेले आफ्नो परिवारलाई रेमिट्यान्सको रूपमा पठाउन मिल्ने र यतैबाट उम्मेदवरले उसको परिवारसँग लिन सक्ने भए पनि उम्मेदवारकै लागि अर्थात् चुनावमै लागि भनेर मोटो रकम ल्याउन नपाइने उनको भनाइ छ ।
राष्ट्र बैंकबाट ल्याउन नपाइने भएपछि त्यस्ता रकम गैरकानूनी तरिकाले भित्रिएको आशंका पनि राष्ट्र बैंकले गरेको छ । व्यापारी पृथ्वी शाहका नाममा विदेशबाट शंकास्पद रूपमा आएको ४० करोड रुपैयाँ राष्ट्र बैंकले छुटाएपछि हंगामा भएको थियो । यहीबाट राष्ट्र बैंक हच्किएको छ, ती अधिकारीले भने । निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकिएको छ । तर त्यो भन्दा कैयौँ गुणा बढी खर्च हुने गरेको उम्मेदवारहरू आफै भन्ने गरेका छन् । एउटा चुनाव लड्न करोड भन्दा कमले नपुग्ने भन्दै सार्वजनिक स्थानमा नेताहरूले भन्दै हिँडिरहेका पनि छन् ।