मिडियाबाजी डटकम काठमाडौं । बिमा समितिले निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न नभएसम्म लघु बिमाको लाइसेन्सको प्रक्रिया अघि नबढ्ने स्पष्टीकरण दिएको छ । समितिले लघु बिमाको लाइसेन्स प्रक्रियाका सबै काम रोक्ने भन्दै निर्वाचन आयोगलाई जवाफ पठाएको हो । केही दिनअघि आयोगले बिमा समितिसँग चुनावका वेला कुन उद्देश्यले लघु बीमाको लाइसेन्स वितरण गर्न लागिएको हो भन्दै स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण मागेसँगै समितिले लाइसेन्सको सबै प्रक्रिया चुनावअघि यथावत राख्ने निर्णय गरी आयोगमा पत्र पठाएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । समितिले आयोगमा बुझाएको स्पष्टीकरणपत्रमा सरकारको बजेटमै लघु बिमाको लाइसेन्स वितरणसम्बन्धी व्यवस्था भएको र सोहीअनुसार लाइसेन्सका लागि आवेदन माग गरिएको बताएको छ ।
निर्वाचन आचारसंहिता लागु हुनुअघि नै प्रक्रिया सुरु गरिएको र निर्वाचन आचारसंहिता सुरु भएपछि भने प्रस्ताव र मूल्यांकनको प्रक्रिया रोकिएको व्यहोरा उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक पौडेलले बताए । बिमा समितिले गत भदौ १० गते सातै प्रदेशमा लघु बिमा खोल्ने उद्देश्यका साथ आवेदन माग गरेको थियो । उक्त समय ३१ कम्पनीले लघु बिमाको लागि आवेदन दिएका छन् ।