चोलेन्द्रलाई सर्वोच्च अदालत प्रवेशमा रोक, सरकारले नेपाल प्रहरीलाई दियो निर्देशन

  असोज ०२, २०७९

मिडियाबाजी डटकम काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएको छ । सरकारको निर्देशन पछी जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन बिहानदेखि ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । यस्तै, जबरा निवासभित्र छिर्ने र बाहिरिने गाडीहरुलाई प्रहरीले सोधपुछ गरेर मात्र भित्र छिराउने र बाहिर निस्किन दिइरहेको छ । नेपाल बार एशोसिएसनले जबरालाई सर्वोच्च छिर्न नदिने बताएको छ ।

यता, प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै सर्वोच्च अदालत छिर्न खोजेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन् । आफूलाई सर्वोच्च छिर्न नदिने योजना बनाएर सरकार अराजकता तर्फ गएको टिप्पणी उनले गरेका छन् । जबराले आफू सर्वोच्च अदालत फर्किने सन्देश पठाएसँगै सर्वोच्च परिसरमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । तर, जबराले भने आफूलाई रोक्न खोजेर सरकारले अराजकता प्रदर्शन गरेको बताए ।

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले ९ वटा कारण देखाउँदै निलम्बित प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगको प्रस्ताव पुष्टि हुने निष्कर्ष निकालेको छ । जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै गत फागुन १ मा सत्ता गठबन्धनका ९८ सांसदले महाभियोग दर्ता गरेका थिए । त्यसपछि उनी निलम्बनमा छन् । 

तपाईंको प्रतिक्रिया

थप खबर