चुनावको प्रचार प्रसारको १५ दिन जाँडरक्सी रोक्न प्रस्ताव

  भदौ २७, २०७९

मिडियाबाजी डटकम २७ भदौ, काठमाडौं । सांसदहरुले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन प्रचार प्रसारको १५ दिन अवधिमा जाँडरक्सीको सार्वजनिक बिक्री रोक्न प्रस्ताव गरेका छन् ।४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि १५ दिन समय दिने गरी निर्वाचन आयोगले कार्यतालिका तय गरेको छ ।

सांसदहरुले यो १५ दिन अवधिमा जाँडरक्सी बिक्रीमा रोक लगाउनुपर्ने प्रस्ताव गरेका हुन् ।सोमबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले प्रदेश सभा र प्रतिनिधिसभा सदस्य चुनावको उम्मेदवारमा महिला सहभागिताको विषयमा छलफल गरेको थियो । छलफलका क्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले भने, प्रचारको १५ दिन मदिरा पुर्णत बन्द गरौं ।

रक्सी खाएर कुटाकुट मात्रै हुन्छ ।’नेकपा एमालेका सांसद विमला विकले पनि चुनाव प्रचारको १५ दिन नै मदिरा र मदिराजन्य पदार्थको बेचबिखनमा रोक्ने प्रस्ताव राखिन् । यसो गरे चुनाव प्रचार प्रसार व्यवस्थित हुनुका साथै खर्च पनि घट्ने उनको भनाइ छ ।निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचन आचारसंहितामा मतदानको तीन दिन अघिदेखि बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म भोजभतेर गर्न पाइदैन ।

त्यस्तै मदिरा बिक्री वितरण गर्न पनि पाइदैन ।१५ दिन नै जाँडरक्सी बिक्रीमा रोक लगाउने प्रस्ताव पनि उचित भएको थपलियाले बताए । ‘मदिरा निषेधका लागि १५ दिनको प्रस्ताव आएको छ । मलाई त सधैं बन्द गरिदिए हुन्छ । तर, मदिराप्रेमी महानुभाव रिसाउनु हुन्न भने १५ दिन राखौं’ थपलियाले भने ।

तपाईंको प्रतिक्रिया

थप खबर