मिडियाबाजी डटकम काठमाडौं,भाद्र २२। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको अवहेलना गरेको निवेदनमा सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन्। उनले आफ्ना कानुनी अधिकारीमार्फत् मंगलबार लिखित जवाफ बुझाएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।
अधिवक्ता दीपकराज जोसीले उनीविरूद्ध दिएको अदालतको अवहेलना निवेदनमाथि सर्वोच्चले लिखित जवाफ बुझाउन भनेको थियो। ‘जनप्रतिनिधि संस्थाको जवाफदेहिताका आयाम कानूनीमात्र हुँदैनन्। मैले प्रतिनिधित्व गर्ने महानगरवासी र आम नागरिकसँग सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट विचार विमर्श गर्दा मेरो जवाफदेहिताको विभिन्न आयामको सन्तुलन मिलाउनुपर्ने हुन्छ,’ उनको लिखित जवाफमा भनिएको छ, ‘बहुआयामिक सन्तुलनमा आधारित मेरो विचार अभिव्यक्तिको स्वतन्त्रतालाई संकुचित गरिन्छ भने त्यसबाट प्रकारान्तरले महानगरवासी तथा आम नागरिकको मौलिक अधिकार कुण्ठित हुन जान्छ।’
केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो। नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो। अदालतकोआदेशपछि मेयर बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेका थिए।