मन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा समातिएका सुरक्षागार्ड छुटे, तर तिनलाई चाहिँ ‘अभद्र व्यवहार’ गरेकै कारण आइतबार दिउँसोदेखि पर्यटनमन्त्री जीवनराम श्रेष्ठ विवादमा छन् ।क्यानडाको भिसाका लागि ठमेलस्थित भिसा सेन्टरमा गएका उनलाई लाइन नबसी सोझै भित्र जान खोज्दा सुरक्षाकर्मीले रोकेका थिए ।
आफूलाई रोकेको झोंकमा उनले मन्त्रालय फर्केपछि आफ्ना सुरक्षाकर्मीलाई जाहेरी लेख्न लगाए । गरुड सेक्यूरिटीजका शेरजंग गुरुङ मन्त्रीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परे । उनलाई ‘अभद्र व्यवहार’को आरोपमा जिल्ला प्रशासन कार्यालयबाट कारबाही अघि बढाइएको छ । जब कि, उनीमाथिको आरोप पुष्टि हुने कुनै प्रमाण छैन ।केही महिनाअघि पर्यटनमन्त्री नै रहेका प्रेम आले विवादमा आए । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बारम्बार अश्लील शब्द प्रयोग गरेर उनले फोनमा गाली गरेका थिए ।
आफूले दिएको निर्देशन पालना नगरेको भन्दै मन्त्री आलेले संवाद सुरु हुनासाथ अश्लील शब्दहरु प्रयोग गरेका थिए ।८ साउन २०७५ मा कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिए । उनले त्यतिबेला एक कार्यक्रममा बंगालदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने छात्रामाथि टिप्पणी गरेका थिए । त्यहाँ पढ्न जाने छात्राहरु प्रमाणपत्रका लागि आफ्नो अस्मिता सुम्पनुपर्छ भनी उनले दिएको अभिव्यक्ति तीव्र विवादमा परेको थियो ।
नेपालमै मेडिकल कलेजहरू खुल्नुपर्ने र कलेजहरुको माग अनुसार विद्यार्थी कोटा दिनुपर्ने भन्दै आफ्नो धारणा पुष्टिका लागि उनले बैंगलादेशमा पुगेर दुःख पाएका मेडिकल कलेजका विद्यार्थीको सन्दर्भमा त्यो अभिव्यक्ति दिएका थिए ।पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उनले राजीनामा दिए । मन्त्री पदबाट रुँदै राजीनामा दिएका उनले आफूले गलत आशयमा नबोलेको भन्दै बिदा भए ।प्रधानमन्त्रीको प्रत्यक्ष मातहत हुने र उनीप्रति जवाफदेही हुनुपर्ने मन्त्रीहरू पटकपटक विवादमा परिरहन्छन् । पछिल्लो पाँच वर्षमा तीनजना मन्त्री आचरण र अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।
– अनलाइन खबरबाट