मिडियाबाजी डटकम काठमाडौं । भुटान सरकारले अधिकांश सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाएको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि भुटानले व्यावसायीक प्रयोजनका सवारी साधन, अर्थ मुभर्स र कृषि मेसीनरीबाहेक अन्य सवारी साधनको आयातमा पूर्ण प्रतिबन्ध लगाएको रोएटर्सले उल्लेख गरेको छ । ५ लाख भन्दा कम जनसंख्या भएको भुटानको अर्थतन्त्रलाई तेल तथा खाद्यान्नको चर्को मूल्यवृद्धिले नकारात्मक असर गरेको छ ।
यस्तै, ‘शून्य कोभिड नीति’ का कारण विदेशी पर्यटकको आगमन २ वर्षयता ठप्प प्राय हुँदा विदेशी मुद्रा सञ्चिति घट्दो क्रममा रहेको छ । भुटान सरकारले एक महिना अघि प्रकासन गरेको एक तथ्यांक अनुसार सन् २०२१ अप्रिलमा १ अर्ब ४६ करोड अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिति घटेर सोही वर्षको डिसेम्बर महिनामा ९७ करोड डलरमा आएको थियो । भुटानको अर्थमन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी २० हजार डलर भन्दा कम मूल्यका व्यावसायीक प्रयोजनका सवारी साधन आयात गर्न र पर्यटन प्रयोग प्रवर्द्धनका लागि प्रयोग गर्न छुट दिइने जनाएको छ ।
भुटानको विदेशी मुद्रा सञ्चितिमा दबाब पर्नुको मुख्य कारण सवारी साधन आयात रहेको छ । भुटानले यस वर्षको जुन महिनासम्ममा ८ हजार भन्दा बढी सवारी साधनहरु आयात गरिसकेको छ । भुटानको संविधानमै न्यूनतम १२ महिनाको आयात धान्न पुग्नेगरी विदेशी मुद्रा सञ्चिति गर्नुपर्ने व्यवस्था रहेको छ । शुक्रबारदेखि लागू भएको आयात प्रतिबन्धको व्यवस्था विदेशी मुद्रा सञ्चितिको अवस्था हेरी अबको ६ महिनापछि पुनरावलोकन गरिने भुटान सरकारले जनाएको छ ।