मिडियाबाजी डटकम खोटाङ । जिल्लाको साकेला गाउँपालिका–५ मात्तिम विर्ताका भूकम्प पीडितहरुलाई नेपाल रेडक्रस सोसाइटी–खोटाङले राहत वितरण गरेको छ । गत आइतबार विहान ८ः१३ बजे गएको ६ रेक्टर स्केलको भूकम्पले पूर्ण क्षती पु¥याएका १४ घरपरिवारलाई रेडक्रस सोसाइटी–खोटाङले राहत वितरण गरेको हो ।
साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईको विशेष उपस्थितिमा भूकम्प पीडितहरुलाई प्रतिघर त्रिपाल–१ थान, कम्बल–२ थान, साडी–१ सेट, बुट्टे कपडा– १ सेट, भाँडाकुँडा–१ सेट र बाल्टीलगायतका सामग्रीहरु वितरण गरिएको हो । भूकम्पका कारण आफ्नो गाउँपालिकामा अपूरणीय क्षति भएको उल्लेख गर्दै अध्यक्ष राईले भूकम्प प्रभावितको थप पहिचान गर्नका लागि केन्द्रीयस्तरबाट परिचालित प्राविधिक विशेषज्ञ टोलीलाई समेत प्रत्येक टोल–टोलमा जान निर्देशन दिएको बताए ।यसका साथै अध्यक्ष राईले भूकम्प प्रभावितहरुलाई थप राहत उपलब्ध गराउनका लागि सम्बन्धित सरोकारवाला निकायहरुसँग गम्भीरता पूर्वक समन्वय गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन् ।
भूम्कप पीडितहरुलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका प्रमुख जिल्ला अधिकारी, नेपाल रेडक्रस सोसाइटी तथा नेपाल प्रहरीलाई उनले धन्यवाद ज्ञापन गरे ।त्यस्तै, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति ज्ञानेन्द्र जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै भूकम्पका कारण पीडित भएका सम्पूर्ण साकेलाबासीलाई थप राहत उपलब्ध गराउन विभिन्न निकायहरुसँग समन्वय गर्ने बताए ।
B त्यस्तै, रेडक्रस सोसाइटी–खोटाङका मन्त्री छत्र कुमार बजिमयले पनि भूकम्प प्रभावितहरुलाई सान्त्वना दिँदै अव्यवस्थित बसाईलाई थप व्यबस्थित बनाउनका लागि गाउँपालिकासँग समन्वय गर्ने र राहत वितरणमा जस्तोसुकै परिस्थितिमा पनि आफू र नेपाल रेड्क्रस सोसाइटी उपस्थित हुने बताए ।यसैबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले कार्यक्रमलाई सम्बोधन गर्दै भूकम्पका कारण पूर्ण क्षति भएका घर–परिवारहरुको यथाशीघ्र तथ्यांक संकलन गरी राहत वितरणको वातावरण मिलाउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।