राष्ट्रपतिको फोटो दुरुपयोग गरेर फेसबुकमा विज्ञापन, साइबर ब्युरोले अनुसन्धान गर्दै

  श्रावण १९, २०७९

मिडियाबाजी डटकम काठमाण्डौं।एनपी–को (NP-co) नामको फेसबुक पेज बनाएर राष्ट्रपतिको फोटो राखेर छात्रवृत्तिको विज्ञापन भइरहेको छ । पेजमा लेखिएको छ, ‘नेपाल सरकारले निर्णय गरेको छ, प्रत्येक नेपालीलाई अनुदान दिने निर्णय गर्दै डलर २५०, अनुदानका लागि १८ वर्षभन्दा कम उमेरको हुनु हुँदैन, अहिले आवेदन दिनुहोस् ।’

यसअघि गएको असारमा पनि अनुदान नामक पेज बनाएर राष्ट्रपति भण्डारीको फोटो राखेर विज्ञापन भएको थियो । यस विषयमा राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले मिडियाबाजी डटकम लाई भन्नुभयो, ‘हामीले यसअघि पनि प्रहरीलाई जानकारी गराएका थियौँ, उहाँहरूले रोक्ने प्रयास गर्नुभयाे होला र गल्ती गर्नेलाई कारबाही पनि गर्नुभयाे होला तर राष्ट्रपतिकै फोटो पटक–पटक दुरुपयोग भइरहेकोबारे प्रहरी अझै चनाखो हुनुपर्ने जरुरी छ ।’ उहाँले यस्ता गलत कामलाई सबै मिलेर निरुत्साहित गर्नुपर्ने पनि बताउनुभयो । 

नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले यस विषयमा अनुसन्धान थाल्ने बताउनुभएको छ । ‘हामीले यस विषयमा अनुसन्धान थाल्छौँ, सम्मानीय राष्ट्रपतिकै फोटोको दुरुपयोग गरेर विज्ञापन गर्नु हदैसम्मको साइबर अपराध हो’, उहाँले भन्नुभयो । 

तपाईंको प्रतिक्रिया

थप खबर