मिडियाबाजी डटकम १७ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कि सांसद रेनुका गुरुङले सोमबार राति आफ्नो घरको गेटभित्र बम पड्किएको बताएकी छन् ।मंगलबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले आफ्नो घरको गेटभित्र बम पड्किएको दाबी गरेकी हुन् । उनले सुरक्षाको कारण दे मल्लखाउँदै आजीवन निजी सुरक्षाकर्मीको व्यवस्था गर्न गृहमन्त्री र सरकारसँग माग राखेकी छन् ।
मेरो देशलाई शिरमा बोकेर हिँड्ने म नेपाल आमाकी छोरी हुँ । मैले जिन्दगीभरि देश र समाजको लागि सेवा गरेवापत म संग प्रशांसापत्र र प्रमाणपत्रको थुप्रो छ । हिजो राति ८ बजेर २५ मिनेट जाँदा मैले देशलाई माया गरेको मन नपराउने देशद्रोहीहरुले मेरो घरको गेटभित्र बम पड्काए । घरका सबै आतंकित भए ।झ्याल खोलेर हेरेँ, दुई जना लोग्ने मानिस मोटरसाइकलमा गएको देखेँ ।
तर, अँध्यारो भएकोले चिन्न सकिन । महाराजगञ्जको थानाको नम्बर खोजेर फोन गरेँ, माननीय गृहमन्त्रीलाई फोन गरेँ, फोन उठेन । प्रहरी आएपछि म पनि आँगनमा ओर्लिएँ ।कम्पाउण्डभित्र रकेट बमको खोल भेटियो, जुन प्रहरीले लिएर गएको छ । त्यसपछि माननीय उपसभामुख पुष्पा भुसाललाई फोन गरेँ, सान्त्वना दिनुभयो ।
अत: म संघीय सांसद र कार्यपालिकाको सदस्य भइसकेकाले म र मेरो घर परिवारको सुरक्षार्थ पूर्व राज्यमन्त्रीले पाउनुपर्ने अनिवार्य पीएसओको आजीवन व्यवस्थाका लागि गृहमन्त्री र नेपाल सरकारसँग माग गर्दछु ।तर, उपत्यका प्रहरी कार्यालयका प्रमुख रवीन्द्रबहादुर धानुकले चाहिँ गएराति टोखा क्षेत्रमा विस्फोट भएको भन्ने सूचना प्रहरीको कुनै पनि संयन्त्रमा नआएको बताएका छन् ।
‘फोनमा नलागे १०० मा फोन गरेर सूचना दिन सकिन्छ । १०० मा २४ सै घण्टा फोन लाग्छ, सूचना लिइन्छ’, प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी धानुकले थपे, ‘अझै पनि प्रहरीलाई सबै विवरण प्राप्त भए छानबिन हुन्छ ।’