ललितपुर महानगरपालिकाले नगर प्रहरीको क्विक रेस्पोन्स टीम (क्यूआरटी) सेवा सुरू गरेको छ। महानगरबासीलाई आइपर्ने विभिन्न समस्याको तत्काल समाधान र सहयोग गर्न नगर प्रहरीको क्यूआरटी टोली परिचालनमा ल्याइएको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।
विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन लिएर हिँड्ने टोलीले कुनै पनि घटना-दुर्घटना वा भइपरि आउने जस्तोसुकै कामका लागि तत्काल सेवा र सहयोग गर्ने महर्जनले बताए।मेयर महर्जनका अनुसार क्यूआरटी टोलीले नगर सफाइदेखि सार्वजनिक आवागमनमा बाधा पुर्याउने गरी राखिएका फुटपाथ पसल हटाउन, अनाधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण गर्न र हटाउने लगायतका काम गर्नेछ।
सामान्य सवारी पार्किङ व्यवस्थापनदेखि घटना र दुर्घटनाका बेला महानगरबासीलाई तत्काल सेवा दिन क्यूआरटी सेवा सुरू गरिएको महानगरका नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए।
उनले नगरको सुव्यवस्था कायम राख्न तथा कुनै घटना दुर्घटना भइहाले घटनास्थलमा तत्काल पुग्न दुई पाङ्ग्रे विद्युतीय सवारीसहितको क्यूआरटी टोली परिचालित हुने बताए।
‘पार्किङ रेखदेख र ट्राफिक व्यवस्थापनदेखि सवारी दुर्घटना, निमयविपरित भवन निर्माण, ढल व्यवस्थापन, सडक पेटी अतिक्रमणलगायत व्यवस्थापनका लागि तत्काल घटना स्थलमा पुगेर सेवा दिन यो सेवा सुरू गरिएको हो’, उनले भने। क्यूआरटी टोलीले महानगरपालिकाबाट स्वीकृत नलिइ तथा मापदण्ड विपरीत अनाधिकृत रुपमा संरचना निर्माण गर्न नदिन र निर्माण भइरहेका संरचनाको काम रोक्न पनि टोलीले काम गर्नेछ।
ललितपुर महानगरपालिकाभित्रका सबै वडामा पुग्ने फोटो र भिडियो खिच्ने क्यामेरासहित यो टोलीले सडक संरक्षण, फुटपाथको सदुपयोग, ढल र सरसफाइलाई व्यवस्थित गर्नेछ। हाछेथूले महानगरभित्रको गल्ली र टोल–टोलमा सजिलो होस् भनेर विद्युतीय सवारीबाट गस्ती सुरु गरेको बताए। उनले गस्तीको मद्दतले नगरवासीलाई नै सेवा पुग्ने र सडकमा यात्रा गर्नसमेत सजिलो हुने बताए।