कर्मचारी कुटेर कार चोरी गरी फरार तीन भारतीय पक्राऊ

  असार १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं,आषाढ १३।कैलालीमा सरकारी कर्मचारीलाई कुटपिट गरी कार लगेर फरार भएका तीन भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित ऐश्वर्य सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए ।

‘पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतिको हिरासतमा राखिएको छ,’ प्रवक्ता जोशीले भने, ‘घाटाको कारण भने अझै खुलेको छैन, अहिले तीनै जनामाथि सोधपुछ भइरहेको छ ।’ सोमबार बिहान कञ्चनपुरबाट कैलालीको खानी डाँडासम्म जाने भन्दै उनीहरुले डडेल्धुराको आलिताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लिफ्ट मागेका थिए । पिडितका अनुसार कारमा तेल हालिदिने भन्दै तीनै जनाले गोदावरी नगरपालिका स्थित चुरेसम्म जान लिफ्ट मागेका थिए ।

कैलालीको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलामा पुगेपछि उनीहरुले फोटो खिच्ने बहानामा भण्डारीलाई बाहिर निकालेर कुटपिट गरी रुखमा बाँधेर कारसहित फरार भएका थिए । कुटपिट गरी कार चोरी गर्नेमा भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँट रहेका छन् । लुटिएको प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको कार पनि सामुदायिक वन जानेबाटोमा पर्ने पाठक पेट्रोल पम्प नजिक वेवारिसे अवस्थामा भेटिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर