न्यायाधीश र अधिवक्ताको घुसपैठको अडियो बाहिरिएपछि न्यायपरिषद्को बैठक बस्दै

  असार ०८, २०७९

मिडियाबाजी डटकम काठमाडौं।काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको छ । न्यूज २४ टिभीले मंगलबार साँझ अडियो सार्वजनिक गरेको हो । न्यायाधीश वकिलबीचका संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो १ बजे न्यायापरिषद्को बैठक बोलाएका छन् ।

‘गम्भीर विषयको अडियो नै बाहिर आएपछि यसबारे बुझ्नका लागि बैठक बोलाइएको हो,’ कामु प्रधानन्यायाधीश कार्कीले कान्तिपुरसँग भने । न्यायपरिषद्‍ बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिका माथि पनि छलफल हुने भएको छ । सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् । त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् ।

अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका छन् । यो अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनैपनि इजलास तोकिएको छैन ।

तपाईंको प्रतिक्रिया

थप खबर