विमान दुर्घटनामा ज्यान गुमाएका १० जनाको शव काठमाडौं ल्याइँदै

  जेठ १६, २०७९

तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका १० जनाको शव काठमाडौं ल्याइँदैछ । दुर्घटनास्थल थासाङ गाउँपालिका–२, सानोस्वाँरेबाट संकलन गरेर शव कोबाङ्गमा केन्द्रित गरिएको मुस्ताङका डिएसपी रामकुमार दानीले  बताए । नेपाली सेनाको हेलिकप्टरमार्फत १० वटा शव काठमाडौं पठाउन लागिएको उनले बताए । उनले भने, ‘पहिलो चरणमा १० वटा शव काठमाडौं पठाउँदै छौं ।’


आइतबार पोखराबाट जोमसोमका लागि उडेको ट्विनअटर मुस्ताङको थासाङ गाउँपालिका–२, सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । विमानमा चालक दलका सदस्यसहित २२ जना सवार थिए ।
खराब मौसमका कारण नेपाली सेनाको एमआई–१७ हेलिकप्टर मुस्ताङको थासाङ गाउँपालिका–२, कोबाङ्गमा अवतरण गरिएको छ । कोबाङ्गबाट दुर्घटनास्थलमा पुग्न करिब ३–४ घण्टा पैदल हिँड्नुपर्छ । दुर्घटना स्थलमा खटिएका सुरक्षाकर्मीहरुका अनुसार २१ वटा शव भेटिएको छ । अझै एकजनाको अवस्था अज्ञात रहेको दुर्घटना स्थलबाट एकजना सुरक्षा अधिकृतले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर