शुक्रबार काठमाडौंको चुनावी सभामा गठबन्धनको तितो यथार्थता पोखिएको छ | स्थानीय तह निर्वाचनको मतदानको मिति ३० वैशाख नजिकिँदै गर्दा कांग्रेसभित्र असन्तुष्टिका स्वरहरू मत्थर हुँदै गएपनि त्यसले निर्वाचनको परीणामलाई असर पुर्याउने निश्चित जस्तै देखिन्छ । यसैलाई संकेत गरेर नेता नेपालले मात्रै होइन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाली कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल र बागमती प्रदेश सभापति इन्द्र बानियाँले समेत चर्को आलोचना गरे । बागी उम्मेदवारलाई लोकतन्त्र विरोधीको आरोप समेत लगाए ।पाँच दलीय गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका अधिकांश नेता कार्यकर्ताले चुनावी तालमेलको विरोध गरिरहेका छन् ।
त्यति मात्रै होइन गठबन्धनको भागबण्डामा आफ्नो भागमा नपरेका महत्वपूर्ण नगर र पालिकामा बागी उम्मेदवार समेत उठेका छन् ।‘दम्भ देखाएर हुँदैन, एक्लै कहीँ पुगिँदैन’ पाँच दलीय गठबन्धनको घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार काठमाडौं महानगरपालिकामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा भने ।’स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा गठबन्धनका संयुक्त उम्मेदवारलाई मत माग्न आयोजित चुनावी सभामा अध्यक्ष नेपालले यस्तै अर्थपूर्ण अभिव्यक्ति दिए, जसले गठबन्धनभित्र कायम असन्तुष्टिलाई प्रतिबिम्बित गर्छ ।
नेताहरूको अभिव्यक्तिलाई बुझ्ने हो भने चुनावी उम्मेदवारहरूको भागवबण्डा मात्रै गठबन्धनको खास उद्देश्य देखिन्छ|