चुनावपछि पेट्रोल प्रतिलिटर १८३ पुग्न सक्ने

  बैशाख २२, २०७९

२२ वैशाख, काठमाडौं । चुनावको बेलामा सरकारको विरोध हुन सक्ने भन्दै हिजोआज आयल निगमले इन्धनको मूल्य बढाएको छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर भारतीय आयल कर्पोरेसन (आईओसी)ले नयाँ मूल्य सूचि पठाए पनि निगमले २२ चैतदेखि मूल्यवृद्धि गरेको छैन ।
आईओसीले पठाएको नयाँ मूल्यसूचीका आधारमा हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको निगमले हाललाई स्वचालित मूल्य प्रणाली रोकेको छ । ३० वैशाखको स्थानीय निर्वाचनपछि भने स्वचालित मूल्य प्रणालीलाई नै निरन्तरता दिने निगमका कार्यकारी निर्देशक उमेश थानीले बताए ।
१८ वैशाखमा प्राप्त आईओसीको नयाँ बिक्री मूल्य अनुसार नेपालमा पेट्रोलको लागत मूल्य १८३ रुपैयाँ २ पैसा र डिजेलको १८३ रुपैयाँ १३ पैसा छ । निगमले अहिले पेट्रोल प्रतिलिटर १६० र डिजेल प्रतिलिटर १४३ रुपैयाँमा बिक्री गर्दै आएको छ । जेठपछि भने एकैपटक हृवात्तै मूल्यवृद्धि गर्ने निगमको तयारी छ ।

त्यसका लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निगमलाई अनुमति दिइसकेको उनको भनाइ छ । ‘प्रधानमन्त्री र अर्थमन्त्रीले अगाडि बढ्न भनिसक्नुभयो । हामी जेठ पहिलो साताबाटै डिजेल पेट्रोल परल मूल्यमै बिक्रीमा जान्छौं,’ थानीले भने, ‘तत्काललाई निगम जोगाउन अरु कुनै उपाय नभएपछि मूल्य बढाएरै जानु पर्ने देखियो ।’हालको बिक्री मूल्यलाई परल मूल्यमा लगिए पेट्रोलको मूल्य लिटरमा २३ रुपैयाँ २ पैसा र डिजेलको मूल्य ४० रुपैयाँ १३ पैसा प्रतिलिटर एकै पटकमा वृद्धि हुनेछ । खाना पकाउने ग्यास र हवाइ इन्धन तथा मटि्टतेलको मूल्यमा भने स्वचालित प्रणाली तत्काल लागू नहुने निगमले जनाएको छ ।महँगो मूल्यका कारण निगमको मासिक घाटा १० अर्ब नाघ्ने र इन्धन किनेकै पैसा भुक्तानी गर्न नसक्ने अवस्था आएपछि मूल्यवृद्धि निर्विकल्प भएको कार्यकारी निर्देशक थानीको दाबी छ ।

तपाईंको प्रतिक्रिया

थप खबर