बाग्मती गाऊँपालिका अध्यक्षको मनपरी

  बैशाख ०८, २०७९

ललितपुर । बाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले आफ्नो ‘निजी गाडी’ गाउँपालिकालाई भाडामा लिन लगाएर आफै चढ्ने गरेको खुलासा भएको छ ।
वडा ४ प्युटार बस्ने मखमली घले अध्यक्ष लोप्चनकी साली हुन् । उनैको नाम रहेको गाडी मासिक भाडा वडालाइ बुझाउने गरी गाउँपालिकाले सम्झौता गरेको पाइएको छ , जुन गाडी अध्यक्ष लोप्चन आफै चढ्छन् ।
राजधानी दैनिकले प्राप्त गरेको ‘डकुमेन्ट’अनुसार पालिकाले १ कात्तिक २०७७ देखि २०७८ असार मसान्तसम्म मासिक १ लाख ८० हजार भाडा बुझाउनेगरी सम्झौता गरेको छ । सम्झौतामा ‘सवारी चालक सवारीधनीले उपलब्ध गराउनुपर्ने’ भनिए पनि ‘पालिकाबाटै सवारी चालकको तलबसमेत लिइने गरेको’ उल्लेख छ ।
गाउँपालिकाले अध्यक्षले प्रयोग गर्नेगरी आर्थिक वर्ष २०७४-७५ देखि नै ‘कोटेसन’गरी लोप्चनले पत्नी सीता लोप्चनको नाममा रहेको ‘महिन्द्र स्कारपियो फुल अप्सन फोर ह्विल गाडी’ भाडामा लिएको थियो । सवारी बा१८च ९९६८ नम्बर सेतो रङको डिजेल गाडी भाडामा लिइएको थियो ।‘पत्नीकै नाममा रहेका गाडी भाडामा लिएको ?’ भनी प्रश्न उठ्न थालेपछि साली मखमली घलेको नाममा ‘नामसारी’ गरी आर्थिक वर्ष २०७४-७५ देखि नै हालसम्म निरन्तर भाडामा लिएर अध्यक्ष आफै चढिरहेका छन् । यो खबर आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर