असोज ५ काठमाडौं / अघिल्लो पुस्ताका दुई सुपरस्टार शिव श्रेष्ठ र भुवन केसीबीच सुमधुर सम्बन्ध कायम छ । ‘चिनो, राजु राजा राम, संकल्प, सपना’ लगायतका फिल्ममा एकसाथ काम गरेका उनीहरुलाई एक समय एकअर्काका प्रतिस्पर्धी समेत भन्ने गरिन्थ्यो । तर, यसको असर उनीहरुको व्यक्तिगत सम्बन्धमा कहिल्यै परेन । आज पनि यी दुई सुपरस्टारले एकअर्कालाई साथ र सहयोग गर्दै आएका छन ।
शिव र भुवनले नेपाली फिल्मसँगै केही पाकिस्तानी फिल्ममा समेत एकसाथ अभिनय गरेका छन । शिवले नै भुवनलाई पाकिस्तान लिएर गएका थिए । विगत १६ वर्षदेखि उनीहरुले फिल्ममा भने काम गरेका थिएनन । फिल्म ‘राजु राजा राम’ पछि निर्देशक शोभित बस्नेतले यो जोडीलाई फेरि पर्दामा लिएर आएका छन । फिल्म ‘डाँडाको वरपीपल’ मा उनीहरुको अभिनय रहेको छ ।
आइतवार फिल्मको ‘काट्दिम्ला जुँगा जम्मै’ बोलको पहिलो गीत सार्वजनिक कार्यक्रममा उनीहरुले एकअर्काकै प्रशंसामा शब्द खर्चिए । पाकिस्तान थर्काएर नेपाललाई विश्वमाझ चिनाएकोमा भुवनले शिवलाई असली ‘महानायक’ घोषित गरे भने शिवले भुवनकै कारण धरापमा पुगेको नेपाली फिल्म इन्डस्ट्री बचेको तर्क गरे । उनले फिल्म निर्माणमा भुवन केसी जादूगर रहेको पनि बताए ।
उनी भन्छन्, ‘नेपालले भुवन केसीप्रति गर्व गर्नुपर्छ । किनकि, भुवन केसी नभइदिएको भए नेपाली फिल्म इन्डस्ट्री जमानामा बन्द भइसक्थ्यो । त्यसबेला कोही माइकलाल जन्मिएको थिएन, जुन बेला फिल्म इन्डस्ट्री धराप भइसकेको थियो । त्यसबेला भुवन केसीजीले फिल्म ‘करोडपति’ लिएर आउनुभयो । उहाँले यो फिल्म नबनाउनुभएको भए सायद आज हामी यो ठाउँमा हुन्थेनौं ।’