अन्तत: ३० वर्षपछि च्याम्पियन बन्यो लिभरपुल

  असार १२, २०७७

१२ असार, काठमाडौँ । यस सिजनको प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ । गएराति भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई पराजित गरेसँगै लिभरपुल च्याम्पियन बनेको हो । प्रिमियर लिगको उपाधि जित्न लिभरपुललाई एउटा जितको आवश्यकता रहेको थियो ।

तर, म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएसँगै लिभरपुलले प्रिमियर लिगको उपाधि जित्न सफल भएको हो । लिभरपुलभन्दा म्यानसिटी २३ अंकले पछि रहेको छ ।

यस सिजन उच्च फर्ममा रहेको लिभरपुलले गएको सिजन पनि प्रिमियर लिगमा ऐतिहासिक प्रतिस्पर्धा गरेको थियो । तर, गएको सिजन भने म्यानसिटीले बाजी मार्न सफल भएको थियो ।

तर, यस सिजन एक खेलमात्र गुमाएको लिभरपुलले दुई खेल बराबरी खेल्दै प्रिमियर लिगको उपाधि जित्न सफल भएको हो । लिभरपुलको ३१ खेलमा ८६ अंक रहेको छ ।

३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको लिभरपुलले गएको सिजन च्याम्पियन्स लिगको उपाधि पनि जितेको थियो ।

सन् २०१५ मा लिभरपुलको प्रशिक्षक बनेसँगै उर्गेन क्लपले तीन वर्षभित्र लिभरपुललाई उपाधि जिताउने आफ्नो लक्ष्य रहेको बताएका थिए । उनले गएको सिजन च्याम्पियन्स लिग उपाधि जिताउँदै आफ्नो बोली पुरा गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर