मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद धवलशमशेर जबरा पक्राउ परेको संसद्लाई जानकारी गराएका छन् ।
सोमबार सभामुख घिमिरेले जबरा पक्राउ परेको सूचना सभामा सुनाएका हुन् । जसमा दुर्गा प्रसाईं समेत भएको राज्यविरुद्धको अपराध सम्बन्धी कसूरमा जबरा पक्राउ परेको उल्लेख छ । राप्रपा महामन्त्रीसमेत रहेका जबरा यही १५ चैतमा पक्राउ परेका हुन् ।
राप्रपाको संलग्नता समेतमा १५ चैतमा तीनकुनेमा प्रदर्शन भएको र त्यसमा जबरा, रवीन्द्र मिश्र सहितका व्यक्तिहरू भेला भएको उल्लेख छ । त्यसक्रममा संसद् भवन लगायत महत्वपूर्ण प्रतिष्ठानहरू कब्जा गर्न जानुपर्छ भन्दै भिडलाई उत्तेजित बनाउने कार्य भएका थिए ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था उल्ट्याउने भनेर अपराधिक बलको प्रयोग गरेको, हुलहुज्जत गरेको, प्रहरीसँग मुडभेड गरेको र निषेधित क्षेत्र तोड्न उत्प्रेरित गरेको आरोपमा प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।