मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आज स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन हुँदैछ । बिहान ८ बजेबाट मतदान गर्ने भनिए पनि प्राविधिक तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ। मतदान अपराह्न ४ बजेसम्म चल्ने छ । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुमा विद्युतीय मतदान हुनेछ ।
यसअघि २०७९ सालमा पनि विद्युतीय उपकरणमार्फत् नै मतदान गराइएको थियो । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुको नेतृत्वमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत संगठन प्रतिस्पर्धा गर्दैछन् । केही स्वतन्त्रहरू पनि मैदानमा छन् । नेकपा एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियूले तालमेल गरेर उम्मेदवारी दिएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी एक्लै प्रतिस्पर्धा गर्दैछन् । अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेविसंघबाट दीपकराज जोशी, अखिल क्रान्तिकारीबाट प्रविन दाहाल, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्रसिंह महरा, सुधारवादी विद्यार्थी संघबाट मिलन तामाङ, नेक्राविसंघबाट विमल सुवाल, अखिल क्रान्तिकारी बहुमतबाट राजन साउद स्वतन्त्र उम्मेदवार पद्मा भुसालले अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।