मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ । राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको ईद ईद उल फित्र पर्वको अवसरमा इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् । इदका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्न टेवा पुग्ने विश्वास लिएको बताएका छन् । उनले सामाजिक एवम् सांस्कृतिक विविधता बीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने विश्वास पनि व्यक्त गरे ।
साथै उनले यस पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोंच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी कामना व्यक्त गरेका छन् । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूला बडाबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिने गरिन्छ। सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहिआएको छ ।