मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १७। म्यान्मामा गएको ठूलो भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुगेको छ भने तीन हजार ४०८ जना घाइते भएका छन्। खोजी तथा उद्धार कार्य जारी रहेको छ।
मध्य म्यान्माको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्प आएको थियो।
भूकम्पले म्यान्मामा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको थियो।
म्यान्मामा कम्तीमा एक हजार ६४४ जनाको मृत्यु भएको र करिब तीन हजार ४०८ जना घाइते भएको म्यान्मा सरकारले विज्ञप्तिमा जनाएको छ। उक्त भूकम्पको कारण बैङ्ककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा सय जना हराइरहेको पुष्टि भएको छ।
भुकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि, प्रकोपको वास्तविक तथ्यांक सरकारले सार्वजनिक गरिरहेको छ भने मृतकको सङ्ख्या अझै बढ्ने आशंका गरिएको छ। विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धार सामाग्री पुर्याउने काममा समेत समस्या भइरहेको जनाइएको छ।