मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १६ । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण र हत्याको कानुन बमोजिम कारबाही हुने बताएका छन् । शनिवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरुमाथि कानुन बमोजिम अनुसन्धान गरेर कारबाही गर्ने प्रतिवद्धता जनााएका हुन् ।
राजावादीहरुले तीनकुनेमा शुक्रवार गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ, सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गरिएको छ । आक्रमणकारीहरुले शुक्रवार एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका थिए । सोही अनुगमन एवं निरीक्षणका क्रममा आलोकनगर पुग्नुभएका गृहमन्त्री लेखकले शुक्रवारको राजावादीहरुले प्रदर्शनका नाममा गरेको हिंसा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता, चेतनासँग टाढा–टाढाको पनि साइनो नरहेको जिकिर गरे ।