मिडियाबाजी डटकम काठमाडौँ , माघ १६ । एन्फा महिला लिग फुटबलको उपाधि अपराजित विभागीय टोली एपीएफले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ४–० ले हराउँदै एपीएफले लिग च्याम्पियन बनेको हो । एपीएफको जितमा सबिता राना मगरले २, र सुरु लिम्बु तथा अनु लामाले समान १–१ गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको खेलको दोस्रो हाफको ६४ औं मिनेटमा सविताको गोलमार्फत एपिएफले सुरुआती अग्रता लियो । त्यसको ६ मिनेटपछि नै सुरु लिम्वुले अग्रता दोब्बर बनाइन् । ८४ औं मिनेटमा सविताले तेस्रो गोल गरिन्। इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुले गोल गर्दै एपीएफको ४–० को जित पक्का गरिन् । अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपीएफले पहिलो चरणको लिगमा ९ खेलमध्ये ८ मा जित र १ बराबरी गर्न सफल भयो ।