मिडियाबाजी डटकम काठमाडौँ, फागुन १६ । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) ०८१-८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। सूचनाको हकसम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ।
विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरुलगायतमा जम्मा ५९ अर्ब आठ करोड रुपैयाँ खर्च गरिएको छ। यसरी चालू आवको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।
आव ०७२-७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ। गत आव ०८०-८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। आफूले कमाएको नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवं सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरुमा लगानी गरिरहेको छ।