मिडियाबाजी डटकम काठमाडौँ, फागुन १५ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा रहेको बताएका छन् । व्यवस्थित स्वास्थ्य नीति बनाएर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले समग्र स्वास्थ्य क्षेत्रलाई लिएर नीति बनाउने काम भइरहेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलमा आज २८औं स्वास्थ्य सेवा दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, ‘एकीकृत स्वास्थ्य सेवा ऐन नै ल्याउन खोजिएको हो । सबैलाई समेटेर लैजान खोजिरहेका छौँ । ऐनलाई सरोकारवासँग छलफल गरेर निष्कर्षमा पुर्याउनु पर्नेछ । स्वास्थ्य सेवाभित्रका जनशक्तिका सबै विषय ऐनभित्र समेट्ने प्रयास गरिरहेका छौँ ।’
मन्त्री पौडेलले संघीयता भित्र रहेर स्वास्थ्य सेवा विस्तार गर्ने विषयमा काम गर्नुपर्ने बताए । उनले भने, ‘स्वास्थ्यकर्मी दबाबमा रहेर काम गर्न सक्दैनन् । काम गर्ने वातावरण निर्माण गर्नुपर्यो । जनशक्ति यहाँ बस्न चाहेका छैनन् । आवश्यक क्षमता अभिवृद्धि गर्ने वातावरण बनेको छैन ? व्यक्तिगत उन्नयनको परिस्थिति सहज बनाइनुपर्छ । यो पनि स्वास्थ्य सेवा ऐनमा समावेश गर्नुपर्छ ।’
स्वास्थ्य मन्त्रालयका पूर्वसचिव रोशन पोखरेलले स्वास्थ्य सेवालाई विशेष बनाउन छुट्टै स्वास्थ्य सेवा ऐन बनाउनुपर्ने प्रतिक्रिया दिए । उनले भने, ‘कर्मचारीलाई उत्प्रेरणा पनि आवश्यक छ । दरबन्दीको समस्या हल गर्नुपर्नेछ । संघीयतामा स्वास्थ्य सेवालाई कहाँ राख्ने त्यो स्पष्ट हुनुपर्छ । स्वास्थ्य सेवालाई एकै ठाउँमा नल्याउने हो भने यसको नतिजा राम्रो आउन सक्दैन ।’