बिहीबारदेखि पश्चिमी वायु पुनः सक्रिय हुने, काठमाडौंमा पानी पर्ने

  फागुन १३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन १३ ।  हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

मंगलबार र बुधबार सामान्यतया मौसम सफा रहने मौसमविद् विनोद पोखरेलले जानकारी दिएका छन् । मौसम पूर्वानुमान महाशाखाले मंगलबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको औंल्याएको छ ।

मौसमविद् पोखरेलले बिहीबार र शुक्रबार पश्चिमी वायु पुनः सक्रिय हुने बताएका छन् । यसले पश्चिम नेपालमा उल्लेखनीय वर्षा गराउने पनि उनले बताए । यो प्रणालीले काठमाडौंमा पनि हिउँदको पहिलो वर्षा हुने सम्भावना रहेको उनले बताए । मंसिर १६ देखि फागुन १३ गतेसम्मको अवधिमा काठमाडौंमा एक झर पानी परेको छैन । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुसमेतका प्रभावले सोमबार कोशीका तराई भूभागमा मध्यम वर्षा भएको थियो । पश्चिम नेपालमा पनि यसपालि हल्कादेखि मध्यम वर्षा भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर