वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थ आयात

  चैत १०, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ११ ।  चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास एलपिजी, एभिएसन टर्बाइन फ्युल एटिएफ र मट्टितेल आयात भएको हो । गत आवको आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा रु एक अर्ब ६७ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । गत आवको आठ महिनामा रु एक खर्ब २० अर्ब ५३ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको आयात र राजस्व बढेको बताए ।

‘अहिले पूर्वाधार निर्माणको समय भएकाले पनि पेट्रोलियम पदार्थको आयात बढेको देखिन्छ’, उनले भने । कार्यालयका अनुसार, चालु आवको आठ महिनामा सबै खालका पेट्रोलियम पदार्थको आयातबाट रु ५० अर्ब १३ करोड राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा रु ४४ अर्ब ८० करोड राजस्व संकलन भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर