मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ११ । दक्षिण कोरियाको संसदले महाभियोग लगाएको कार्यवाहक राष्ट्रपतिलाई अदालतले पुनर्बहाली गरिदिएको छ । राष्ट्रपति युन सुक योललाई महाभियोग लगाइएपछि त्यतिबेला प्रधानमन्त्री रहेका हान डक सू कार्यवाहक राष्ट्रपति बनेका थिए ।
सैनिक ‘कू’ को असफल प्रयास गरेका राष्ट्रपति युनको महाभियोग अदालतबाट अगाडि बढ्ने प्रक्रिया रोकेको भन्दै दक्षिण कोरियाली संसदले कार्यवाहक राष्ट्रपति बनेका हान डक सूलाई पनि महाभियोग लगाएको थियो । त्यसमा तीन महिनापछि निर्णय सुनाउँदै संवैधानिक अदालतले हान डक सुलाई कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
अदालतले पुनर्बहाली गरेपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेको भन्दै उनीहरूको प्रशंसा गरेका थिए । ‘बदलिँदो विश्व परिस्थितिकाबीच दक्षिण कोरियालाई विकासको बाटोमा निरन्तर लैजान अब हामी सँगै काम गर्नेछौं,’ उनले भने ।
सोमबार संवैधानिक इजलासका ८ मध्ये पाँच जना न्यायाधीशहरूले महाभियोगको प्रस्ताव वैध भएको तर कार्यवाहक जिम्मेवारीमा रहेका हानलाई महाभियोग लगाउनुपर्ने पर्याप्त आधार नरहेको निर्णय गरेका थिए । दुई न्यायाधीहरूले भने संसदको दुई तिहाइले पास नगरेका कारण महाभियोग प्रस्ताव नै अवैध रहेको बताएको रोयटर्सको समाचारमा उल्लेख छ । एक जना न्यायाधीशले भने हानलाई महाभियोग लगाउनु पर्ने पक्षमा मत दिएका थिए ।