सर्लाहीका सभापतिलाई पदमुक्त गर्न माग गर्दै कांग्रेस पार्टी कार्यालयमा प्रदर्शन

  चैत ०९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १० । नेपाली कांग्रेस सर्लाहीका सभापतिलाई बर्खास्त गर्न माग गर्दै कार्यकर्ताहरूले केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरिसकेकाले सभापति सुरेन्द्रप्रसाद सिंहलाई पदमुक्त गर्नुपर्ने उनीहरूको माग छ ।

सभापति सिंहले पार्टीको नीतिविपरीत कार्य गरेकाले राजीनामा दिनुपर्ने जिल्ला उपसभापति, क्षेत्रीय सभापतिलगायतका पदाधिकारीहरूको माग छ । सर्लाहीका सभापतिलाई बर्खास्त गर्नका लागि उनीहरूले सभापति शेरबहादुर देउवालाई दुई बुँदे निवेदन समेत बुझाएका छन् ।

सर्वोच्चले भ्रष्टाचार मुद्दामा दोषी प्रमाणित गरेकाले कांग्रेस सर्लाहीका सभापति सिंहलाई नेपाली कांग्रेसको संशोधित विधान २०७५ को धारा २ को उपधारा १३ को ‘क’ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिधिभित्र राखेर कारबाही गर्नुपर्ने उनीहरूको माग छ । प्रदर्शनका क्रममा उनीहरूले जिल्ला सभापतिले पार्टीभित्र गुटबन्दी गरेको, निष्पक्ष रूपमा संगठन सञ्चालन नगरेको तथा कार्यकर्ताहरूलाई विभाजन गर्ने प्रयास गरेको आरोप लगाएका छन् । आज कांग्रेसको कार्यसम्पादन समितिको बैठक १ बजेदेखि बस्दैछ ।

तपाईंको प्रतिक्रिया

थप खबर