मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ । नेपाली गजलको प्रवर्द्धन गर्ने तथा सर्जकहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले ‘गजल मञ्च चितवन’ ले आयोजना गर्दै आएको ‘गजल सँग’ कार्यक्रमको १०औँ शृङ्खला यही चैत ९ गते शनिबार हुने भएको छ । कार्यक्रम दिउँसो १ बजे, भरतपुर- ८ शरदपुरस्थित होटल काव्या इनमा आयोजना गरिनेछ ।
गजल मञ्च चितवनले लामो समयदेखि गजल साधकहरूलाई एकत्रित गर्ने काम गर्दै आएको छ । यसपटकको शृङ्खलामा विभिन्न स्थानबाट स्थापित र उदाउँदा गजलकारहरूको विशेष प्रस्तुति रहनेछ । प्रमुख सहभागी गजलकारहरूमा गुल्मीका प्राञ्जल, हेटौंडाका सागर तिमिल्सिना, जाजरकोटका प्रकाश किरण र चितवनकी सरला जोशी रहेका छन् ।
कार्यक्रममा ४ जना गजलकारले आफ्ना उत्कृष्ट गजल प्रस्तुत गर्नेछन्, जसले नेपाली गजल साधना र श्रवण संस्कृतिलाई अझ प्रवर्द्धन गर्ने विश्वास लिइएको छ । गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासका अनुसार गजल मञ्च चितवनले आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिनेछ । साहित्यप्रेमी, गजल अनुरागी तथा सर्जकहरूलाई कार्यक्रममा उपस्थित भई गजलको भाव र सौन्दर्यमा रमाउन अध्यक्ष अनायासले सबैलाई अनुरोध गरेका छन् ।