विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता 

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , माघ ७ ।  हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा। बदर अब्देल–अतिसँग आज फोनवार्ता गरेकी छन् ।

इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ । परराष्ट्रमन्त्री डा। राणाले पहिलो चरणमै विपीनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा अब्देल अतिमार्फत् इजिप्ट सरकारसँग आज सो आग्रह गरेकी हुन् । आफ्नो स्वास्थ्य उपचारका लागि बैंककमा रहेकी मन्त्री डा। राणाले त्यहीँबाट इजिप्टका मन्त्रीसँग फोनवार्ता गरेकी हुन् ।

फोनवार्ताका क्रममा मन्त्री डा। राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्टि सरकारलाई धन्यवाद दिएकी थिइन् । त्यसैगरी इजिप्टका विदेशमन्त्री डा। अब्देल अतिले विपिनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताएका थिए ।

इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री डा। राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपीन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहेकी छन् । केही दिन अघि मात्र मन्त्री डा। राणाले कतारका विदेश राज्यमन्त्री डा। मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग पनि फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर