मिडियाबाजी डटकम काठमाडौँ , माघ ७ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ । मलेसियाको बाङ्गीमा टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभर ५ बलमा ७३ रनमा अलआउट भयो । नेपालकी पूजा महतोले २७ रन बनाइन् । स्कटल्यान्डकी मेसे मसेराले ५ विकेट लिइन् ।
प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट पराजित भएको थियो ।नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि बुधवार अस्ट्रेलियासँग खेल्नेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इङ्गल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्याण्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् । हरेक समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्ने छन् । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।