आन्दोलन नरोक्ने शिक्षक महासंघको चेतावनी

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ३ ।  शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलन नरोकिने भएको छ । सरकारले बैशाख १२ गते संसद बोलाएर शिक्षा बिधेयक पारित गराउने निर्णय लिए पनि शिक्षकहरूको आन्दोलन भने नरोकिने भएको अध्यक्ष लक्ष्मी किशोर सुबेदीले जानकारी दिए ।

‘हिजो बैशाख २ गतेको आन्दोलनमा सहभागी सबै साथीहरुलाई धन्यवाद। आज बैशाख ३ गते सदा झैं ठिक १२ः०० बजे माइतीघर मण्डला आइपुग्नु होला । हाम्रो आन्दोलन जारी छ,’ उनले भने । उनले अगाडि भनेको छन्, ‘पहिलो, अब हामी निर्णायक मोडमा आइपुगेका छौं । हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ। त्यसैले अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन । दोस्रो, देश भरिका सबै साथीहरु आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइ पुग्नु होला ।’

उनको तर्क छ, ‘अनधिकृत विचार, अफवाह, षड्यन्त्र र भ्रामक समाचार प्रति सचेत रहनुहोला ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो आन्दोलन, मेरो सहभागिता, बलियो उपस्थिति(बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि ।’ उता सरकारले भने आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गरेको छ। मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर