मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रचण्डले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने बताए ।
विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गर्न चुनौतिपूर्ण रहेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले विधेयकलाई तत्काल पारित गर्न जोड दिए । ‘अहिले जे–जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन् । उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ’, उनले भने, ‘तर, मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकको विषय सरकारको प्राथमिकतामा नपर्दा यसमा ढिलाइ भएको छ ।’