‘गाजलु ती ठुलाठुला आँखा’का गायक पाकिस्तानका गुलाम अली नेपालमा,आज पुल्चोकमा साङ्गीतिक प्रस्तुति

  चैत ०१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २ । पाकिस्तानको प्रसिद्ध गजलकार गुलाम अली यतिबेला नेपालमा छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना हुने ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि उनी बिहीबार नेपाल आएका हुन् । साधना कला केन्द्रले आयोजना गरेको कार्यक्रमका लागि गायक अली ११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै काठमाडौंँ आइपुगेका हुन् । आयोजकले उनलाई काठमाडौँको एउटा तारे होटलमा राखेको छ ।

अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल गाउने कार्यक्रम छ । पहिलो पटक नेपालमा प्रस्तुति दिन लागेका अली नेपाल प्रस्तुतिका लागि उत्साहित रहेको आयोजक संस्था साधना कला केन्द्रका मिलन मोक्तानले बताए । मोक्तानका अनुसार कार्यक्रममा अर्को आकर्षक प्रस्तुति गायक अलीका छोरा अमिर र नाति नाजिरले पनि दिनेछन् ।

गुलाम अली पाकिस्तानी चर्चित गजल तथा पार्श्वगायक हुन् । उनी गायक बडे गुलाम अली खान र छोटे गुलाम अली खानका चेला हुन् । उनी गजल गायकको रूपमा प्रख्यात छन् । पाकिस्तानको अलावा भारत, नेपाल, बङ्गलादेश, अमेरिका, बेलायत र मध्यपूर्वी एसियामा समेत उनी चर्चित छन् । उनका थुप्रै गजल बलिउड फिल्ममा समेत समेटिएको छ । गुलाम अलीको थुप्रै गजल लोकप्रिय छन् । तीमध्ये ‘छुप छुप रात दिन’, ‘हङ्गामा हे क्युँ’, ‘यह दिल यह पागल दिल’, ‘किया है प्यार जिसे’ फिल्ममा पनि छन् । उनले पञ्जाबी गीतसमेत गाएका छन् ।

अलीले तत्कालीन राजा महेन्द्रले लेखेको ‘किन किन तिम्रो तस्बिर’ गीत पनि गाएका थिए । अलीले संगीतकार दीपक जंगमको शब्द तथा संगीतमा नेपाली ४ वटा गीत गाएका छन् ।

सन् १९६० मा अलीले रेडियो पाकिस्तान, लाहोरका लागि गीत गाउन सुरु गरेका थिए । उनले नेपाली गजल ‘किन किन तिम्रो तस्बिर’, ‘गाजलु ती ठुलाठुला आँखा’, ‘लोलाएका ती ठुला’, ‘के छ र दिउँ’ जस्ता गीत गाएका छन् । ती गीत–गजल तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहले लेखेका थिए । अली महेन्द्रका मनपर्ने गायक थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर