मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १ । मधेसको प्राचीन मिथिलाको धार्मिक तथा सांस्कृतिक महत्त्वको मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदैछ। फागुन औँसीका दिन सुरु भई १५ रात्रिविश्रामको यो यात्रा आज १६औँ दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न गरिँदैछ। जनकपुरधामको रङ्गभूमि मैदानमा १५औँ दिनको रात्रिविश्राम गरेका यात्रीले बिहीबार मध्यरात कटेसँगै पञ्चकोशी पनि भनिने जनकपुरधामको अन्तरगृह परिक्रमा थालेका छन्।
मिथिलामा १५औँ दिनको रात्रिबासपछि १६औँं दिन पञ्चकोशी परिक्रमा गरेपछि मात्र यात्रा सम्पन्न भएको मानिन्छ। अहिले पञ्चकोशी परिक्रमाका यात्री जनकपुरधामको अन्तरगृह परिक्रमा पथमा अटुट मानवपङ्क्ति देखिँदो छ। यो अन्तिम यात्राका क्रममा बिहीबार साँझ होलिका दहन गरिएको खरानी उडाउँदै अन्तरगृहपथको एक फन्को लगाएपछि पवित्र गङ्गासागरमा चोबलिएर यात्रीले यस वर्षको मध्यमा परिक्रमा सम्पन्न गर्दैछन्।
मिथिलामा फागुन पूर्णिमाका रात राक्षसी प्रवृत्तिकी होलिकाको प्रतीक बनाएर आगो झोसेर दहन (जलाएर खरानी बनाउने) गरिने चलन छ। परिक्रमा यात्रीले पथमा पर्ने होलिका दहनको खरानी उडाउँँदै आफूभित्रको खराब प्रवृत्ति अन्त्यको कामना गर्दछन्। यो खरानी उडाइने चलनलाई मिथिलामा ‘धुरा उडाउने’ भनिन्छ।
अन्तरगृह यात्रामा मध्यमा परिक्रमामा सरिक हुन नसकेका सर्वसाधारण पनि सरिक हुन्छन्। मध्यमा परिक्रमा गर्न नसकेकाहरूले अन्तरगृहसम्म यात्रा गरे पनि पुण्य प्राप्त हुने मैथिल जनविश्वास छ। यसै विश्वासले आज महोत्तरी, धनुषालगायत आसपासका जिल्लाबाट हजारौँका सङ्ख्यामा सर्वसाधारण अन्तरगृह परिक्रमामा सरिक भएका छन्।