मिडियाबाजी डटकम काठमाडौँ , फागुण १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको ३० औँ वर्षगाँठका अवसरमा शुभकामना सन्देश जारी गर्दै ऐतिहासिक संघर्षले व्यवस्था परिवर्तन गरे पनि जनताको वास्तविक अवस्था बदल्ने लक्ष्य अझै पूरा नभएको बताएका छन् ।
उनले उपलब्धिहरूलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीमा जुट्नुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘हामीले विभेदमुक्त, समानतामा आधारित समाज निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न बाँकी छ ।’
प्रचण्डले दलित, महिला, संघीयता, र समावेशितासम्बन्धी संवैधानिक व्यवस्था भए पनि व्यवहारमा ती पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरे । उनले भने, ‘दलित समुदाय अझै पनि विभेद र उत्पीडनको चपेटामा छन् । महिलाहरू पूर्ण रूपमा सुरक्षित र स्वतन्त्र हुन सकेका छैनन् । संघीयता र समावेशिता अझै संस्थागत भइसकेका छैनन् ।’
उनले माओवादी आन्दोलनको वर्तमान चरणलाई ‘क्रान्तिको शान्तिपूर्ण मोर्चा’ को रूपमा परिभाषित गर्दै बाँकी परिवर्तनहरू जनविश्वास र जनमतको सम्मानसहित पूरा गर्नुपर्ने जिम्मेवारी रहेको उल्लेख गरे । प्रचण्डले २०५२ साल फागुन १ गतेलाई नेपाली जनताले शोषण र उत्पीडनविरुद्ध विद्रोह आरम्भ गरेको ऐतिहासिक दिनको रूपमा स्मरण गरे । ‘यो दिन नेपाली जनताको संघर्ष र शहीदहरूको बलिदानलाई सम्मान गर्दै, समतामूलक समाज निर्माणको संकल्प गर्ने दिन हो,’ उनले भने ।
यस अवसरमा उनले शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, बेपत्ता योद्धाहरूलाई उच्च सम्मान व्यक्त गरे र घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । इतिहासले दिएको कार्यभार पूरा गर्न सुशासन, सामाजिक न्याय, र समृद्धिका लागि सबै नेपालीहरूलाई एकजुट हुन आग्रह गर्दै प्रचण्डले आम जनसमुदायमा अपिल गरेका छन् ।