पूर्वराजालाई नागरिक सरह दण्डको भागीदार बनाउँछौं : पोखरेल

  १४ घण्टा अगाडि

 मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ३० ।  सत्तारुढ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चैत १५ गते काठमाडौं तीनकुनेमा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिकले गरेको गल्ती सरह दण्ड गरिने बताएका छन्।

आज (शनिबार) पार्टी जिल्ला कमिटी कास्कीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले देशलाई द्वन्द्व र हिंसामा लैजान खोजिएको विषय सरकारले राम्रोसँग बुझेको बताए । ‘एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागिदार हुनुपर्छ त्यस्तै किसिमले पूर्वराजालाई दण्डको भागिदार बनाउने छौं,’ पोखरेलले भने ।

उनले तीनकुने घटनाको मुख्य योजनाकार पूर्वराजा नै भएको दाबी गरे । चैत १५ को प्रदर्शनको उद्देश्य नै हत्या, हिंसा, तोडफोड र आगजानी रहेको उनले जिकिर गरे । ‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानीका उद्देश्यका साथ आयोजना गरिएको थियो,’ पोखरेलले भने, ‘त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु ।’ अराजकतावादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नहुने पोखरेलको भनाइ छ ।

शिक्षा ऐन र निजामति सेवा ऐन वर्तमान सरकारले बर्खे अधिवेशनबाट पारित गर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ । आन्दोलनरत शिक्षकले वार्तामार्फत समाधान खोज्न आवश्यक रहेको उनले बताए । ‘शिक्षकका माग जुन छन् ती मागलाई सम्बोधन गर्ने हिसाबले आउने बर्खे अधिवेशनमा पहिलो चरणमै त्यो शिक्षा विधेयक ल्याउने छौं र पास गर्नेछौं,’ पोखरेलले भने, ‘समितिमा छलफल चलिरहेको कुरा भएको हुनाले त्यसलाई टुंगिने प्रक्रिया हुन्छ ।’

तपाईंको प्रतिक्रिया

थप खबर