मिडियाबाजी डटकम काठमाडौँ, फागुन २७ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुँदै छन् । २०८१ सालको एसईई परीक्षा आगामी चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष एसईई परीक्षामा सहभागी हुन देशभरबाट पाँचलाख १० हजारले फाराम भरेका छन् ।
बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षाका लागि केन्द्रबाट गरिने सम्पूर्ण तयारी पूरा भइसकेको छ । परीक्षाका लागि सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र पुर्याइसकिएको छ । परीक्षामा अनिवार्य विषयका लागि प्रदेश अनुसार फरक फरक प्रश्नपत्र तयार पारिएको छ ।
ऐच्छिक विषयमा भने विद्यार्थी सङ्ख्याका आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एक प्रकारको मात्रै प्रश्नपत्र छापिएको छ । यस पटक जापानबाट २९ जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउँदै छन् । जुन जापानमा सञ्चालित नेपाली भाषाको विद्यालयका विद्यार्थी हुन् । गत वर्ष जापानबाट २३ जनाले एसईई दिएका थिए । गत वर्ष कुल चार लाख ४४ हजार ७८५ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । त्यसमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै ग्रेड प्राप्त गरेका थिए ।