अमेरिका गएर नफिर्किएपछि माओवादीले गर्‍यो आफ्ना पार्टीका वडाध्यक्षलाई निलम्बन

  १९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २५।  माओवादी केन्द्रबाट साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्षमा विजयी भएका अर्जुनकुमार कटवाललाई जानकारी बिनै अमेरिका बसेको भन्दै निलम्बन गरिएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले खड्कालाई अनिश्चितकालका लागि निलम्बन गरेको हो ।

एक वर्षदेखि पार्टी र सम्बन्धित निकायलाई जानकारी नदिई अमेरिका बसेपछि पार्टीले फर्किएर कार्यभार सम्हाल्न आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै प्रदेश समितिले निलम्बन गरेको माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डेले जानकारी दिएका छन् । २०८० माघ १७ गतेदेखि जानकारी बिनै अमेरिका बसेको र जनताको काममा समस्या भएको भन्दै कारबाहीका लागि माओवादी केन्द्र साकेला गाउँपालिका कार्यसमितिले गत पुस–११ गते सिफारिस गरेको पाण्डेले बताए ।

वडाध्यक्ष अनुपस्थित हुँदा जनताले पाउने सेवा, सुविधा, विकास निर्माण लगायतका सम्पूर्ण सेवा प्रभावित भएको भन्दै स्थानीयले आन्दोलन गर्दै आएका थिए । भ्रमणमा अमेरिका छिरेका कटवाल नफर्केपछि मात्तिमका पूर्व वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वदलीय-सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै गत कात्तिकमा वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए । कटवाल २०७९ सालमा पनि साढे दुई महिना अमेरिका बसेर फर्किएका थिए । त्यसबेला कटवालले वडा सदस्यलाई कार्यवाहक तोकेर गएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर