स्याङ्जामा नवग्रह मन्दिर निर्माण अन्तिम चरणमा

  माघ २७, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ , माघ २७ ।   स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका धार्मिक पर्यटनको हब बन्ने भएको छ ।  वडा नम्बर १ मा (नेपालमै पहिलो) नवग्रह मन्दिर निर्माण सुरू भएपछि अर्जुनचौपारी धार्मिक पर्यटनको हब बन्ने भएको हो । नेपालकै पहिलो नवग्रह मन्दिर बनाउने र पालिकालाई धार्मिक पर्यटनको हब बनाउने योजना अनुरूप नवग्रह मन्दिर निर्माण गरिएको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।

विभिन्न शक्तिपीठहरुमा एक छेउमा नवग्रहको प्रतिमा राखेर पुजा गर्ने गरिएता पनि देश विदेशमा सिद्धिप्राप्त योगीहरुले यो ठाउँमा नवग्रह मन्दिर निर्माण गर्नु अत्यन्तै उपयुक्त हुने सल्लाह दिए अनुरुप नवग्रह मन्दिर निर्माण गरिएको तिवारीकाे भनाई छ ।

भारतको आसामस्थित चित्रसाल पहाडमा रहेकाे नवग्रह (नौ आकाशीय पिण्ड)को मन्दिर  अर्जुनचाैपारीमा पनि निर्माण भएकाे हाे । तर यहाँ बनेकाे मन्दिर भारतकाेभन्दा फरक हुने अध्यक्ष तिवारी बताउँछन् । नवग्रह मन्दिरको मुख्य स्तम्भ नवभुज आकारको हुने बताइएको छ । जुन २७.७ फिटको बनाइने छ । २७ फिट माथितिर फर्केको अग्लो ब्रह्माणीय मूर्तिको अवलोकन प्रत्येक वर्षको गणेश चतुदर्शीमा मात्र गर्न पाइनेछ ।

नवग्रह मन्दिरसँगै बनाइएको षट्कोणको बीचमा पशुपतिनाथको जस्तै पञ्चमूखि शिवलिङ्ग राखिने र अन्य कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरब, हनुमान र दुर्गा भवानीको मूर्ति राखिने छ । मन्दिरको एक ठाउँबाट छिरेपछि ९ चक्रमा रहेका नवग्रहलाई ९ परिक्रमासहितको पूजा गरेपछि मात्र बाहिर निस्कन मिल्ने छ ।

तपाईंको प्रतिक्रिया

थप खबर