मिडियाबाजी डटकम काठमाडौँ , पौष २५ । सरकारले सन् २०२४ मा १४७ चिनियाँसहित ४९४ विदेशी नागरिकलाई निष्कासन गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार अध्यागमन विभागले जबरजस्ती करणी, अभद्र व्यवहार, बालयौन दुराचार, जाली राहदानी, जाली भिसा,ओभरस्टेलगायत कसूरमा उनीहरूलाई निष्कासन गरेको हो ।
निष्कासित हुनेहरूमा भिसाको म्याद गुज्रिएका ओभर स्टेहरू बढी छन् । प्राप्त तथ्यांकअनुसार भिसाको म्याद गुज्रिएकाहरू मात्रै ४४९ जना छन् । बाँकी ४५ जना विभिन्न कसूरमा निकालिएका हुन् ।
गृह मन्त्रालयले १४७ जना चिनियाँ नागरिकहरूलाई निकाल्दा ६ जना गम्भीर प्रकृतिका अपराधमा मुछिएको पाइएको छ। उनीहरूमाथि जबरजस्ती करणीदेखि बालयौन दुराचारसम्मको आरोप लागेको गृहको भनाइ छ । ६ जनामध्ये २ जना सार्वजनिक सम्पत्तिविरुद्धको कसूरमा निकालिए भने बाँकी ४ जना जबरजस्तीकरणी, बालयौन दुराचार, अभद्र व्यवहार र बैंकिङ कसूरमा निष्कासित गरिएको थियो। १४१ जना भने ओभर स्टेमा निष्कासित परेका थिए ।