मिडियाबाजी डटकम काठमाडौँ, फागुन २४ । पोखरामा आयोजना गर्न लागिएको धार्मिक अनुष्ठान ‘कोटीहोम’ रोक्न विश्व हिन्दु महासङ्घ राष्ट्रिय समितिले माग गरेको छ । महासङ्घले पोखरा महानगरपालिकालाई सम्बोधन गर्दै पठाएको पत्रमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, र एकताको रक्षा गर्न विवादित कार्यक्रम रोक्नुपर्ने माग गरिएको छ ।
महासङ्घले कोटीहोमका नाममा गरिने भनिएको उक्त अनुष्ठान हिन्दु धर्म र परम्परासँग मेल नखाने, समाजमा विद्वेष फैलाउने, तथा आरोप प्रत्यारोपको माध्यम बन्न सक्ने खालको रहेको जनाएको छ । साथै, यस कार्यक्रमले धार्मिक आस्थालाई विवादमा ल्याउन सक्ने भन्दै महासङ्घले चासो व्यक्त गरेको छ ।
पत्रमा उल्लेख भएअनुसार, पोखरामा यसअघि पनि विभिन्न धार्मिक गतिविधिहरूको आडमा समाजलाई विभाजित गर्ने प्रयासहरू हुँदै आएको भन्दै महासङ्घले यस्ता कार्यहरूलाई प्रश्रय दिन नहुने उल्लेख गरेको छ । धार्मिक कार्यको नाममा राजनीतिक स्वार्थ पूर्ति गर्ने, सामाजिक सद्भाव भड्काउने र हिन्दु धर्मलाई कमजोर बनाउने प्रयास भइरहेको महासङ्घको भनाइ छ ।
महासङ्घ राष्ट्रिय समिति, कास्कीका अध्यक्ष सुजनबाबु पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा, धार्मिक आस्थाका नाममा गरिने हरेक क्रियाकलाप शुद्ध र पवित्र हुनुपर्नेमा जोड दिइएको छ। साथै, समाजमा द्वन्द्व सिर्जना गर्ने किसिमका गतिविधिहरू रोक्न स्थानीय प्रशासनसँग आग्रह गरिएको छ।