चार देशीय महिला टी–२० क्रिकेटः नेपालले आज नामिबियासँग खेल्दै

  फागुन २४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २४ ।  चार देशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा शनिबार नामिबियासँग खेल्दैछ ।
नेपाल र नामिबियाको खेल युगान्डाको एन्टेब्बे क्रिकेट मैदानमा नेपाली समयअनुसार बेलुका पौने ५ बजे सुरु हुनेछ । नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो ।

सिरिजमा सबै टोलीले एकअर्कासँग सामान दुईरदुई खेल खेल्नेछन् । त्यसमा नेपालले यही फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्ने छ । त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ । लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् । फाइनल खेल चैत ३ गते हुनेछ ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन् ।

नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले आफ्ना टोलीको कमजोरी सुधार गरी सिरिज जितेर फर्कने युगान्डा जानुअघि बताएका थिए । त्यस्तै, नेपाली टिमकी कप्तान बर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले उक्त शृङ्खलामा राम्रो खेल खेलेर फर्कने बताएकी थिइन् ।

तपाईंको प्रतिक्रिया

थप खबर