मिडियाबाजी डटकम काठमाडौँ , माघ २६ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ शान्ति टोलबाट १० दिनदेखि बेपत्ता तीन वर्षीय बालक अंश चौधरीको शव शनिबार खोलामा भेटिएको छ । बारा र पर्साको सीमामा पर्ने किया सोती खोलामा तैरिरहेको अवस्थामा बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मामा घरमा बस्दै आएका रितेश चौधरीका छोरा अंश माघ १७ गते बिहान ९ः३० बजे घरबाट निस्किएका थिए । विद्यालय जाने बालबालिकाहरूसँगै जितपुर बजारसम्म पुगेको सीसीटीभी फुटेजमा देखिए पनि त्यसपछि उनी बेपत्ता थिए । स्थानीयले खोलामा तैरिएको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । प्रहरी उपरीक्षक सन्तोष तमाङका अनुसार घटनास्थल पुगेर शवको पहिचान गर्दा बेपत्ता बालककै भएको पुष्टि भएको हो । ‘खोलाबाट शव निकालेर उनका आमाबुवासँग पहिचान गराउँदा उनीहरूले आफ्नै छोराको शव भएको पुष्टि गरे,’ प्रहरी उपरीक्षक तमाङले भने ।
बालकको मृत्यु खोलामा डुबेर भएको हो वा अन्य कुनै कारण रहेको छ भन्नेबारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थप जानकारी दिने प्रहरीको भनाइ छ । अंशका आफन्तहरूले जितपुर बजारसम्म देखिएको बालक कसरी खोलासम्म पुग्यो भन्नेबारे गहिरो अनुसन्धान गर्न माग गरेका छन् । रौतहट जिल्लाको दुर्गा भागवती गाउँपालिका–१ भागाहा पिप्रा घर भएका अंशका बुवा परिवारसहित ससुरालीमा बस्दै आएका थि ए। बालक हराएको खबर समयमै प्रहरीलाई दिइए पनि खोजी कार्यमा ढिलाइ हुँदा अहिले शव भेटिएको भन्दै अंशकी आमा अन्जली जैसवालले गुनासो गरेकी छन् ।