पोखरामा कोटिहोम आयोजक र नगर प्रहरीबीच हानाहान, केही घाइते

  फागुन २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २३ ।  पोखरामा कोटिहोम आयोजक पक्ष र नगर प्रहरीबीच झडप भएको छ भने केही घाइते भएका छन् ।
कोटिहोम आयोजक समितिले शुक्रबार बिहान बराहीघाटमा भूमि पूजन कार्यक्रम राखेको थियो । कोटिहोम विराट ज्ञान महायज्ञ गर्नुअघि भूमि पूजन गर्न लागिएको थियो ।

पोखरा महानगरपालिकाले कोटिमहोम आयोजनाका लागि अनुमति दिएको छैन । अनुमति विना कार्यक्रम गरेको भन्दै महानगरले रोक्न खोजेको थियो ।
त्यही क्रममा नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप भएको हो । झडपमा भूमि पूजनका लागि वाराहीघाट पुगेका एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

नगर प्रहरीले लाठी प्रहार गर्दा केही व्यक्ति घाइते भएको कोटिहोम आयोजक संस्था मानव सेवा फाउन्डेशनका संस्थापक विजय कृष्णमूर्तिले बताएका छन् ।
वाराहीघाट क्षेत्रमा दुवै पक्षबीच झडप भएको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

विवादित धर्मगुरु कृष्णमूर्तिको अगुवाइमा आउँदो वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म पोखरामा कोटिहोम गर्ने तयारी गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कोटिहोमका लागि शुक्रबार भूमि पूजन गर्ने साईत दिएको थियो। त्यसैअनुसार, कोटिहोम आयोजक भूमि पूजन गर्न वाराहीघाट पुगेका थिए ।

पर्यटकको आवागमन हुने ठाउँ भएकाले वाराहीघाटमा होटिहोम महायज्ञ लगाउन नहुने महानगरले बताउँदै आएको छ। त्यसका लागि महानगरले अनुमति नदिने जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर