मिडियाबाजी डटकम काठमाडौँ , पौष २३ । सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । गत आइतबार सुरु भएको बैठक मंगलबार सकिएको नेता महेश बस्नेतले जानकारी दिए । ‘बैठक विभिन्न महत्वपूर्ण समसामयिक प्रस्ताव पारितसहित सकिएको छ । तीन महिने अभियान सञ्चालन गर्ने निर्णय भएको छ,’ उनले भने
तीन दिनसम्म चलेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसमाथि नेताहरूले आफ्नो धारणा राखेका थिए । धारणा राख्ने क्रममा नेताहरूले उठाएको सवालको जवाफ अध्यक्ष ओलीले दिएपछि बैठक सकिएको हो । बैठकमा धेरै नेताहरूले नेतृत्वको शैली परिवर्तनसँगै बैठकको पूर्वसन्ध्यामा डा. भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथिको कारबाही फिर्तालगायतका विषयमा सुझाव राखेका थिए ।
पार्टी विभाजन गरेर अलग भएकाहरुलाई फर्किन एमालेको आग्रह
नेकपा एमालेले पार्टी विभाजन भएर गएकाहरुलाई फर्किन आग्रह गरेको छ । आइतबारदेखि बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई निर्णायक शक्ति बनाउने अभियानमा सबैलाई एकजुट हुन आह्वान गरेको हो । बैठकपछि एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौमतले भने, ‘राष्ट्रिय शक्तिको निर्माण मुलुकको आवश्यकता हो ।
यस्तो शक्तिको निर्माणबाट मात्रै राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न सम्भव छ । यस्तो शक्तिको निर्माण नेकपा एमालेको नेतृत्वमा मात्रै सम्भव छ ।’ निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी विभाजनलगायतका कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्कन आग्रह गरेको उनले बताए ।