मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २४ । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले देशको परिस्थिति अत्यन्तै नाजुक रहेको बताएका छन् । साहित्यिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले देशको राजनीति, आर्थिकलगायतका क्षेत्र अत्यन्तै नाजुक रहेको बताए । उनले बिचौलियाको बिगबिगी हरेक क्षेत्रमा देखिएका जिकिर गरे ।
कोइरालाले कांग्रेस–एमालेबीच सरकार बन्दा संविधान संशोधन वा सुधार गर्ने भनिए पनि ९ महिना बित्दा पनि त्यसमा ध्यान दिन नसकेको उल्लेख गरे । राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि बिचौलियाको चलखेलको कुरा आएको भन्दै उनले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुर्भाग्य हुने बताए ।
नेपालको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नरहेको उनको भनाइ छ । कोइरालाले मुलुकको सुशासन कस्तो अवस्थामा छ भन्ने कुरा स्पष्ट रहेको भन्दै वर्तमान गठबन्धनको औचित्य सावित हुन नसकेको तर्क गरे । कोइरालाले राजनीतिक इच्छाशक्ति भए देशलाई समृद्ध र सुशासनयुक्त बनाउन सकिने बताए । कोइरालाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत ल्याएको सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान र राष्ट्रिय अनुसन्धान आफ्नो मन्त्रालयअन्तर्गत जान जरूरी रहेको बताएका छन् ।